एसियाली खेलकुद छनोट: चीनविरुद्ध नेपालको बलियो लक्ष्य, पूजाको अर्धशतक

प्रकाशित मिति:

काठमाडौं । मलेसियामा जारी एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको सम्मानजनक योगफल तयार पारेको हो।

नेपालका लागि अलराउन्डर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलिन्। उनले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा महत्वपूर्ण ६३ रन जोडिन्। त्यस्तै, रुबी पोदारले अविजित २२ रन र सोनी पाख्रिनले १८ रनको योगदान दिँदै नेपालको इनिङ्सलाई बलियो स्थितिमा पुर्‍याए। चीनका तर्फबाट कसिलो बलिङ गर्दै मा कुइकीले २ विकेट लिइन् भने वाङ वाइयिङ र ली जिपिङले समान १–१ विकेट हात पारे।

नेपाल र चीन महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१९ को फेब्रुअरीयता पहिलो पटक आमनेसामने भएका हुन्। यसअघि भएका दुवै भेटमा नेपालले चीनमाथि जित हात पारेको इतिहास छ। यद्यपि, मङ्गलबार भएको उद्घाटन खेलमा इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको चीन उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, चीन र इन्डोनेसिया रहेका छन् भने समूह ‘ए’ मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड छन्। नेपालले आफ्नो दोस्रो खेल बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल पुग्ने टोलीहरूमध्ये शीर्ष तीनमा पर्न सफल टोलीहरू एसियाली खेलकुदका लागि छनोट हुनेछन्।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार