बाढी र विपद् सामना गर्न महाकालीमा सेनाको अभ्यास

प्रकाशित मिति:

कञ्चनपुर । वर्षायाममा हुन सक्ने सम्भावित बाढी र प्राकृतिक विपद्को पूर्वतयारी तथा उद्धारलाई प्रभावकारी बनाउन कञ्चनपुरको महाकाली नदीमा ‘अभ्यास मनसुन–६’ सम्पन्न भएको छ। भीमदत्त नगरपालिका–१२, ऐरीस्थित महाकाली नदी किनारमा नेपाली सेनाको वराहदल गुल्म (भगतपुर ब्यारेक) को आयोजनामा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी विशेष नमूना अभ्यास प्रदर्शन गरिएको हो। विपद्का बेला नागरिकको ज्यान जोगाउन र क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय कसरी परिचालित हुन्छन् भन्नेबारे स्थानीयवासीलाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

नमूना अभ्यासका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्राविधिक टोलीले आवश्यक उपकरणसहित उद्धारको जीवन्त अभ्यास प्रस्तुत गरेका थिए। वराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले महाकाली नदी क्षेत्रमा हुन सक्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायको प्राविधिक टोली जुनसुकै बेला पनि तयारी अवस्थामा रहने स्पष्ट पार्नुभयो। उक्त अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी संस्थाहरूले समेत सहकार्य गरेका थिए।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदी तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले वर्षातको समयमा स्थानीय नागरिक आफैँ पनि निकै सजग हुनुपर्नेमा जोड दिनुभयो। महाकाली नदीमा पौडी खेल्ने, रमाइलो गर्ने वा ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा सङ्कलन गर्ने जस्ता लापरबाहीका कारण धेरैले ज्यान गुमाउनुपरेको भन्दै उहाँले त्यस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बोहरासहित प्रमुख जिल्ला अधिकारी मदन कोइराला, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार