कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत अछाम घर भएका गोविन्द राज रेग्मी मृत फेला परेका छन्। अछामको साँफेबगर स्थायी ठेगाना भई कञ्चनपुरको महेन्द्रनगर, कटान (१८ नं. वडा कार्यालय नजिकै) डेरा गरी बस्ने २३ वर्षीय रेग्मी गत २०८२ चैत ११ गते, बुधबार बिहान १० बजेदेखि आफ्नो डेराबाट हराएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयमा बी.ई. (BE) ८ औं सेमेस्टरमा अध्ययनरत उनी हराएको ६५ दिनपछि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ पिपरैयास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
लामो समयपछि झुन्डिएको अवस्थामा शव भेटिएसँगै यो घटना हत्या हो वा आत्महत्या भन्ने प्रश्न उठेको छ। यस रहस्यमय घटनाको विस्तृत अनुसन्धान गर्ने जिम्मा अब जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लिएको छ।



