काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएकाले कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम–२०८२’ लाई सम्बोधन गर्दै उहाँले किसानको मुस्कानमा राष्ट्रको खुसी र प्रगतिमा देशको समृद्धि लुकेको धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई जीविकोपार्जनमा मात्र सीमित नराखी युवा ऊर्जा, आधुनिक प्रविधि र दूरदर्शी नीतिमार्फत राष्ट्र निर्माणको मुख्य आधारशिला बनाउनुपर्नेमा जोड दिनुभयो।
यसका लागि बजार व्यवस्थापन, समयमै मल-बीउको आपूर्ति, आधुनिक औजार, सस्तो ब्याजदरमा कृषि कर्जा, कृषि बिमा र विदेशबाट फर्किएका युवाहरूलाई आकर्षित गर्ने लगानीमैत्री वातावरण निर्माण गर्न राज्य र निजी क्षेत्र एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो। सो अवसरमा राष्ट्रपति पौडेलले कृषि पेसालाई सम्मानित र व्यावसायिक बनाउन योगदान पुर्याएका देशका विभिन्न भागका १४ जना उत्कृष्ट कृषकहरूलाई जनही दुई लाख रुपियाँ नगद र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो।



