काठमाडौैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पाँच वर्षको दीर्घकालीन दृष्टिकोण राखेर ल्याइएको बताउँदै यसको कार्यान्वयनबाट देशको कुल गार्हस्थ्य उत्पादन (GDP) ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने दाबी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को अन्तरक्रियामा बोल्दै उहाँले सोही प्रक्षेपित GDP का आधारमा आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने र करिब १६ खर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो। कुल गार्हस्थ्य उत्पादनको तुलनामा राष्ट्रिय ऋण ४३ प्रतिशत पुग्नु धेरै नभएको स्पष्ट पार्दै उहाँले बजेटमा पुराना कार्यक्रमहरूको दायित्वलाई निरन्तरता दिइएको बताउनुभयो। आयभन्दा उपभोगमा आधारित कर नीति बढी प्रभावकारी हुने जिकिर गर्दै अर्थमन्त्रीले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार पछाडि नहट्ने तर उपभोक्तालाई मार नपर्ने गरी विकल्पहरू खोजिने प्रस्ट पार्नुभयो।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको मुख्य आधार रहेको विप्रेषण (रेमिट्यान्स) लाई दिगो बनाउन स्वदेशी उत्पादन र निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो। यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ र नाफिजकी अध्यक्ष मेनुका कार्कीले बजेटको स्वागत गर्दै यसको व्यावहारिक र सफल कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिनुभएको छ।



