विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा आफ्नो पार्टीले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले सञ्चार तथा पत्रकारिता क्षेत्रका समस्याबारे बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले हिजो, आज र भोलि पनि प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको अडान उस्तै रहने बताए। पत्रकारिता समाजको अभिन्न अङ्ग भएकाले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आचार्यले महासङ्घले उठाएका माग गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
विराटनगर आएका महामन्त्री आचार्यलाई महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध गर्नेलाई कारबाही नगरी दण्डहीनतालाई प्रश्रय दिइएको भन्दै आपत्तिसहित ध्यानाकर्षण गराएको हो।
यस्तै, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारको जबर्जस्ती निष्कासन, पारिश्रमिक नदिइएको, लोककल्याणकारी विज्ञापन कटौती र समानुपातिक विज्ञापन वितरणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको विषयसमेत ज्ञापनपत्रमा समेटिएको छ। प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकारको सुनिश्चितता र सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षालगायत माग राख्दै महासङ्घ हाल आन्दोलनमा छ।






