सुर्खेत । दैलेखमा एक वृद्धले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। नारायण नगरपालिका वडा नम्बर ९ सालखर्क निवासी ७० वर्षीय कबिराज थापाले आफ्ना ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेका हुन्।
प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका कबिराज र छोरा यादवबीच सामान्य विषयमा विवाद भएको थियो। सोही क्रममा रिसको झोकमा कबिराजले खुर्पा प्रहार गर्दा यादव गम्भीर घाइते भएका थिए।
आक्रमणबाट छटपटिएका यादवलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको भए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् र मृत घोषणा गरे।
हत्यामा संलग्न अभियुक्त कबिराज थापालाई प्रहरीले वारदातमा प्रयोग गरिएको खुर्पासहित घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।



