डिजिटल शक्तिको अभावमा पार्टीले गम्भीर धक्का खायो: अध्यक्ष ओली

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा पार्टीले गम्भीर धक्का खाएको बताएका छन्। एमालेद्वारा आयोजित प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो विचार व्यक्त गरेका हुन्।

उनले आफ्नो नेतृत्वको सरकारले देशको विकास र सुशासनका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरे। संविधान निर्माणका बेलादेखि नै विभिन्न अवरोधहरू आए पनि ती अवरोधलाई हटाएर अगाडि बढेको स्मरण गर्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो बनाएको र सामाजिक क्षेत्रको समेत विकास गरेको उल्लेख गरे।

आफूहरूले गरेका सकारात्मक कामको उचित प्रचार गर्न नसकिएको उनले स्वीकार गरे। “हाम्रा विरुद्ध भएको प्रचारको प्रतिवाद गर्न सकेनौँ। सत्यको प्रचार गर्न र असत्यको प्रतिवाद गर्न नसक्दा पार्टीले क्षति बेहोर्नुपर्यो,” ओलीले भने।

आफ्नो पार्टीले केही नगरेको भन्दै विपक्षीहरूले भ्रम फैलाएको र सोही योजनाबद्ध प्रचारका कारण भदौ २४ गतेको आगजनी र आतङ्कको घटना भएको उनको भनाइ थियो। सो आतङ्कको बलमा एमाले र यसका नेताहरूलाई बदनाम गराउन भ्रम फैलाइएको भन्दै उनले अब पार्टीको मानव शक्तिलाई डिजिटल शक्तिमा परिणत गर्नुपर्नेमा जोड दिए।

ताजा समाचार