धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको मौलिक पहिचान र संस्कृति संरक्षणका लागि सरकार पूर्ण रूपमा लागिपरेको बताएका छन्। धनगढीमा आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम क्षेत्र भाषा, लोकसंस्कृति र कलाका दृष्टिले विशिष्ट रहेको उल्लेख गर्दै ऐतिहासिक सम्पदाहरूको खोजी, अनुसन्धान र जगेर्ना गर्न प्रदेश सरकार कटिबद्ध रहेको स्पष्ट पारे। यो मौलिकतालाई बचाइराख्न सबै पक्षको उत्तिकै सहयोग आवश्यक पर्ने उनको भनाइ थियो।
यस क्षेत्रमा रहेका डेउडा, फाग, चैत, धमारी र भुवा जस्ता मौलिक लोक साहित्यका विधाहरू अमूल्य सम्पत्ति भएको बताउँदै मुख्यमन्त्री शाहले यिनको संरक्षणमा विशेष जोड दिए। भाषा, कला र इतिहासको संवर्द्धनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा संस्कृति र साहित्यको अभिलेखीकरण एवं प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए। हाम्रा मौलिक परम्परा र इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।



