मुख्यमन्त्रीको निर्वाचन क्षेत्रका तीन पालिकामा पौने दुई अर्ब बढी बजेट विनियोजन

प्रकाशित मिति:

कंचनपुर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्र र उनले मन पराएका स्थानीय तहमा अन्य सांसदको भन्दा बढी बजेट र योजना पारेको तथ्य फेला परेको छ।

प्रदेश सरकारले आगामी वर्षका लागि कुल ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ। जसमध्ये मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्र र उनको पुर्ख्यौली घर रहेका स्थानीय तहका विभिन्न योजनामा मात्रै २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको वार्षिक विकास कार्यक्रम पुस्तिकामा उल्लेख छ।

मुख्यमन्त्री शाहको प्रदेश निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिकामा ८७ करोड १७ लाख, मोहन्याल गाउँपालिकामा ५२ करोड ५९ लाख र जानकी गाउँपालिकामा ४० करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी, उनले आफ्नै क्षेत्र मान्ने टीकापुर नगरपालिकामा ३२ करोड ४६ लाख र बर्दगोरिया गाउँपालिकामा ३१ करोड ९० लाख बजेट पारिएको छ। मुख्यमन्त्रीको पुर्ख्यौली घर रहेको अछामको रामारोशन गाउँपालिकामा पनि विभिन्न योजनाका लागि ३० करोड २५ लाख रुपैयाँ बजेट राखिएको छ।

यस विवरण सार्वजनिक भएपछि प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीले बजेटको समानुपातिक वितरण नगरी आफ्नो क्षेत्रमा मात्रै मनग्य बजेट थुपारेको टिप्पणी गरेका छन्। नेकपा संसदीय दलका नेता खगराज भट्टले सरकारले ‘मामाको धनमा फुपूको श्राद्ध’ गर्न खोजेको आरोप लगाउँदै बजेट राजनीतिक लाभ र स्वार्थलाई केन्द्रमा राखेर आएकाले यसलाई संशोधन गरिनुपर्ने माग गरे।

सत्तापक्ष र प्रतिपक्षी दलहरूले बजेटको तीव्र विरोध गरिरहेका बेला मुख्यमन्त्री कमलबहादुर शाहले भने बजेटमा केही प्राविधिक त्रुटि मात्रै भएको दाबी गरेका छन्। बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले ती प्राविधिक त्रुटिहरूलाई व्यवस्थापन गरेर अगाडि बढ्ने बताए।

ताजा समाचार