काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले समय नदिँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रोकिएको छ। पदाधिकारी नियुक्तिका लागि आवश्यक सिनेट बैठक बस्न नसक्दा विश्वविद्यालय नेतृत्वविहीन बनेको हो।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको थियो। प्रा.डा. जयराज अवस्थी, प्रा.डा. दिनेशकुमार लम्साल र प्रा.डा. शैलु प्रधान सदस्य रहेको सो समितिले अघिल्लो साता नै उपकुलपति र रजिष्ट्रारका लागि नाम सिफारिस गरिसकेको छ। तर, मन्त्री पोखरेलले सिनेट बैठकका लागि समय नदिँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
सरकारले केही दिनअघि अन्य विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्त गरिसके पनि यस विश्वविद्यालयमा भने नेतृत्व अभाव यथावतै छ। यसको प्रत्यक्ष असर विश्वविद्यालयको आगामी शैक्षिक योजनामा परेको छ। आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षाको स्नातक तह (Undergraduate) को अध्ययन सुरु गर्ने तयारी गरिरहेको अवस्थामा नेतृत्व नहुँदा योजना कार्यान्वयनमा अन्योल बढेको सरोकारवालाहरूले बताएका छन्।



