सुदूरपश्चिम बजेटमा कांग्रेसभित्रै ‘विद्रोह’: दलको बैठकअघि मन्त्री र सांसदको छुट्टै भेला

प्रकाशित मिति:

कंचनपुर । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्नुअघि दुई मन्त्रीसहित पाँच जना प्रदेशसभा सदस्यले छुट्टै छलफल गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै सरकारी निवासमा संसदीय दलको बैठक बोलाएका बेला असन्तुष्ट पक्षले छुट्टै रणनीति बनाएको हो। सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमाथि भोलिदेखि प्रदेशसभामा छलफल सुरु हुने तयारी भइरहँदा कांग्रेसभित्रै बजेटलाई लिएर विवाद बढेको छ।

संसदीय दलको बैठकअघि मन्त्रीहरू मानबहादुर रावल र बेलबहादुर रानासहित पाँच सांसदबीच बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रदेशसभा सदस्य दिवानसिंह विष्टले जानकारी दिए। बजेटमा देखिएका समस्या समाधान गर्न पार्टी केन्द्रले महामन्त्री प्रदीप पौडेललाई सुदूरपश्चिम पठाएको उनले बताए। विष्टका अनुसार सुदूरपश्चिमको बजेटमा सत्ता साझेदार एमालेको पनि बिमति रहेकाले केन्द्रका प्रतिनिधिहरूसहित छलफल गरेर निकास खोजिनेछ। सुदूरपश्चिममा कांग्रेसकै नेतृत्वमा सरकार रहे पनि बजेट वितरणलाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिएको हो। दलको बैठकमा बजेट विवाद र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने स्रोतले जनाएको छ।

ताजा समाचार