कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने ‘असारे विकास’ को प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ। विगतका महिनाहरूमा सुस्त रहेको बजेट खर्च असार लागेसँगै ह्वात्तै बढेको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत जेठ मसान्तसम्म जम्मा ३५.२० प्रतिशत मात्रै बजेट खर्च भएकोमा असारको १९ दिनमै झन्डै १० प्रतिशतले खर्च बढेको छ। कार्यालयले असार १ देखि १९ गतेसम्म मात्रै ३ अर्ब २० करोड ७२ लाख रुपियाँ बजेट निकासा गरेको छ।
जेठ मसान्तसम्म पुँजीगततर्फ ५ अर्ब ५५ करोड ५० लाख (२८ प्रतिशत) र चालुतर्फ ६ अर्ब २२ करोड ११ लाख (४५.७२ प्रतिशत) गरी कुल ११ अर्ब ७७ करोड ६१ लाख रुपियाँ खर्च भएको थियो। तर, असार १९ गतेसम्म आइपुग्दा कुल खर्च ४४.८१ प्रतिशत अर्थात् १४ अर्ब ९८ करोड ३३ लाख रुपियाँ पुगेको छ।
कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार असार १९ सम्म पुँजीगततर्फ ७ अर्ब ४६ करोड ८९ लाख (३७.६७ प्रतिशत) र चालुतर्फ ७ अर्ब ५१ करोड ४३ लाख (५५.२६ प्रतिशत) खर्च भइसकेको छ। असार २० देखि खाता बन्द हुने २५ गतेसम्म बजेट अझ बढी निकासा हुने र अब चालुभन्दा पुँजीगत खर्चको ग्राफ अझै बढ्ने कार्यालयले जनाएको छ।



