बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार एउटा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।
बिजगडाबाट सुगरे–दुर्गाथलीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च २६४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। चालकसहित १६ जना सवार उक्त जिप सडकबाट खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महत छन्।
दुर्घटनामा चालक देवेन्द्र धामी, रामबहादुर महत, वीरबहादुर जाग्री, झल्का देवी महत, जयमती महत र हर्का देवी महत गम्भीर घाइते भएका छन्। यस्तै नवराज धामी, दीपेन्द्र जाग्री, रमेश धामी, धनसेर जाग्री, हासुली महत र गौमती देवी महत सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेमध्ये १२ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने सामान्य घाइते ५० वर्षीय इन्द्र महत उपचारपछि घर फर्किसकेका छन्। दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



