बझाङ । बझाङको केदास्युँमा शनिबार भएको जिप दुर्घटनाको मुख्य कारण ओभरलोड र कमजोर सडक पूर्वाधार रहेको खुलेको छ। तीन जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाका घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज र काठमाडौँ पुर्याइएको छ। प्रहरीको प्रारम्भिक जाँच अनुसार बर्सातको पानीले चिप्लो बनेको उकालो मोडमा चालकसहित १६ जना सवार जिपले सन्तुलन गुमाएको थियो। बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गरेको जिपले क्षमताभन्दा बढी भारका कारण उकालो काट्न नसकेपछि, ब्याक गर्ने क्रममा सिधै भीरबाट तल खसेको हो।
गम्भीर अवस्थाका ७ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। तीमध्ये अवस्था जटिल रहेका जिप चालक देवेन्द्र धामी र रामबहादुर महतलाई काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको नेपालगञ्जमै उपचार जारी छ। पहाडी भेगमा प्राविधिक गल्तीका साथ खनिएका ग्रामीण सडक र सवारी साधनको लापरबाहीका कारण बर्सेनि थुप्रै नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ।



