महेन्द्रनगर । महेन्द्रनगरको एक होटलमा छिरेर सञ्चालकका भाइलाई कुटपिट गरेपछि फरार भएका मुख्य आरोपी अन्ततः प्रहरीको फन्दामा परेका छन्।
गत जेठ ९ गते राति महेन्द्रनगरको होटल ग्रान्ड प्यासिफिकभित्र युवाहरूको समूहले गोविन्द चन्दमाथि निर्घात कुटपिट गरेको थियो। सो घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि भीमदत्त नगरपालिका–६ का २६ वर्षीय गौरव चन्द फरार रहँदै आएका थिए।
कैलाली प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले गएराति चन्दसहित तीन जनालाई धनगढीबाट पक्राउ गरेको हो। पक्राउ पर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन समेत बरामद गरिएको छ।
कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार कुटपिटको मुद्दा प्रहरीले यसअघि नै अदालतमा पेस गरिसकेको छ। अहिले पक्राउ परेका चन्दमाथि लागूऔषध र पुरानो कुटपिट दुवै मुद्दामा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।



