कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ ले सामाजिक सुरक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले वडाभित्रका एकल तथा विपन्न दलित परिवारको स्वास्थ्य बिमा गरिदिएको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष सुशील भट्टले लाभग्राहीहरूलाई स्वास्थ्य बिमा कार्ड वितरण गरेका हुन्।

आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रमले विपन्न परिवारलाई उपचार खर्चको भार कम गर्न र नियमित स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

वडाले सामाजिक न्याय, समावेशिता र नागरिकको स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि लक्षित वर्गका लागि यस्ता सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



