कंचनपुर । सत्तारुढ दल एमालेले बजेटमा फरक अडान लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह संकटमा परेका छन्। बजेटलाई लिएर एमालेले खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि निकास खोज्न काठमाडौँ पुगेका मुख्यमन्त्री शाह बुधबार बिनानिष्कर्ष धनगढी फर्किएका हुन्।
काठमाडौँमा कांग्रेस सभापति गगन थापासँग छलफल गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई भेट्ने समय नै दिएनन्। एमालेले बजेट संशोधन नभई पुनर्लेखन, पेश्की बजेट वा सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने कडा अडान राखेको छ।
असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता रहे पनि एमाले र प्रतिपक्षी नेकपा दुवैले खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि सुदूरपश्चिममा ‘बजेट होलिडे’ को खतरा बढेको छ। बजेट फेल हुने निश्चित जस्तै भएपछि मुख्यमन्त्री शाहसामु अब राजीनामा दिने वा प्रदेश सभाको सामना गर्ने मात्र विकल्प बाँकी छ।



