कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण तीव्र, सुदूरपश्चिमकै सबैभन्दा बढी प्रभावित जिल्ला

प्रकाशित मिति:

कंचनपुर । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कञ्चनपुरमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन्। चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै कञ्चनपुरमा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

यस अवधिमा सुदूरपश्चिमभर कुल ७० जनामा सङ्क्रमण देखिएकोमा कञ्चनपुरपछि अछाममा १३ र कैलालीमा १० जना सङ्क्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टका अनुसार सङ्क्रमित लामखुट्टेको अण्डा पानी नहुँदा पनि महिनौँसम्म जीवित रहने भएकाले घर र सार्वजनिक स्थल वरपर पानी जम्न नदिनु नै यसको नियन्त्रणको मुख्य उपाय हो। दोस्रो पटक हुने डेङ्गु सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुने स्वास्थ्यकर्मीले बताएका छन्।

डेङ्गु नियन्त्रणका लागि कञ्चनपुरका नौवटै पालिकामा लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियानका लागि बजेटको व्यवस्था भइसकेको छ। स्वास्थ्यकर्मीले ज्वरो आउँदा जथाभाबी औषधि प्रयोग नगर्न र लामखुट्टेको टोकाइबाट बच्न सतर्कता अपनाउन अपिल गरेका छन्।

ताजा समाचार