सुदूरपश्चिममा नेकपाद्वारा संसदीय दलको बैठक आह्वान

प्रकाशित मिति:

धनगढी। सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै राजनीतिक सरगर्मी बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ। संसदीय दलका नेता खगराज भट्टले शुक्रबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरूलाई बर्खास्त गरेपछि प्रदेशको सत्ता समीकरण फेरिएको हो। मन्त्री बर्खास्तगीलगत्तै एमालेले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह स्पष्ट अल्पमतमा परेका छन्।

प्रदेश सरकारको बजेट पारित गराउन मुख्यमन्त्री शाहले माओवादी केन्द्रसँग सहयोगको आग्रह गरेका थिए। तर, माओवादी केन्द्रले वर्तमान सरकारलाई समर्थन नगर्ने अडान राख्दै उक्त प्रस्ताव अस्वीकार गरेको छ। आफ्नो सर्तहरू पूरा नभएसम्म सरकार गठनका लागि नेपाली कांग्रेस वा एमाले कुनै पनि दललाई सहयोग नगर्ने रणनीति माओवादी केन्द्रले लिएको छ। शुक्रबार बस्ने संसदीय दलको बैठकले सुदूरपश्चिम सरकार गठन र नयाँ गठबन्धनबारे महत्त्वपूर्ण निर्णय लिने बताइएको छ।

ताजा समाचार