कञ्चनपुर । उच्च अदालत दिपायल अन्तर्गतको महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा मुद्दा फर्छ्योट तर्फ उल्लेख्य प्रगति हासिल गरेको छ। इजलासले आफ्नो वार्षिक लक्ष्यभन्दा निकै बढी मुद्दाहरू फैसला गर्दै ९२.११ प्रतिशत समग्र फर्छ्योट दर कायम गर्न सफल भएको हो।
इजलासले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार गत आर्थिक वर्षमा कुल ९१३ वटा मुद्दा दर्ता भएका थिए। जसमा ८४१ वटा मुद्दाको फैसला भइसकेको छ भने अब जम्मा ७२ वटा मुद्दा मात्र बाँकी रहेका छन्।
अदालतले सो आर्थिक वर्षका लागि ५९० वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो। तर, लक्ष्य भन्दा २५१ वटा बढी अर्थात् ८४१ वटा मुद्दाको छिनोफानो गरेर इजलासले १४२.५४ प्रतिशत कार्यसम्पादन प्रगति देखाएको छ।
महेन्द्रनगर इजलासको यो प्रगतिमा सबैभन्दा सकारात्मक पक्ष भनेको एक वर्ष नाघेका कुनै पनि पुराना मुद्दा बाँकी नरहनु हो। पुराना मुद्दालाई समयमै टुङ्ग्याउने अदालतको यो कार्यक्षमताले न्याय सम्पादनलाई छिटो र प्रभावकारी बनाएको छ। इजलासको यस्तो चुस्त कार्यसम्पादनबाट न्यायपालिकाप्रति आम नागरिकको विश्वास अझ बलियो हुने अपेक्षा गरिएको छ।



