कंचनपुर । सुदूरपश्चिम प्रदेशमा आजदेखि हरेली अर्थात् साउने सङ्क्रान्ति सुरु भएको छ। यसैसँगै साउन महिनाभर यहाँका मन्दिरहरूमा शुद्ध घ्यू र तेल प्रयोग गरेर तामाको दियोमा बत्ती बाल्ने सदियौँदेखिको परम्परा आजैदेखि सुरु भएको छ।
धार्मिक विश्वासअनुसार भगवान् विष्णु शयन गर्ने यो महिनाभर माछामासु नखाई चोखो बस्ने र विशेषगरी महिलाहरूले पारिवारिक सुख र समृद्धिका लागि हरियो चुरा-पोतेमा सजिएर साउने सोमबारको व्रत बस्ने गर्छन्।
आजै गाउँघरमा असारको हिलोका कारण लाग्ने छालाको रोग ठीक हुने विश्वासमा तितेपाती बालेर ‘लुतो फाल्ने’ परम्परा पूरा गरिएको छ। यस्तै, खेतबारीमा रोगव्याधि नलागोस् र बाली राम्रो होस् भनेर आलीमा हरिया वनस्पति रोपी ‘हरियालो’ समेत हालिएको छ। यस अवसरमा पराइघर गएका छोरीचेलीलाई माइती बोलाएर खिर र मीठा परिकार खुवाउने प्रचलन छ।



