कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएर बेपत्ता भएका १४ जना महिला सकुशल घर फर्किएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका उनीहरू आइतबार बिहान जङ्गल गएका थिए।
अबेरसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार साँझपख पानी परेपछि बाटो भुलेर निकुञ्जभित्रै रोकिएका उनीहरू सोमबार बिहान आफैँ बाटो पहिल्याउँदै बाहिरिएका हुन्।
मोबाइल नभएका कारण रातभर सम्पर्क हुन नसकेपछि प्रहरीले ड्रोन प्रयोग गरेर खोजी अघि बढाएको थियो। सबैजना समूहमै र सुरक्षित फेला परेकाले प्रहरीले आगामी दिनमा यसरी बिनाअनुमति जङ्गल नपस्न आग्रह गर्दै उनीहरूलाई परिवारको जिम्मा लगाएको छ।



