कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्कास्थित टी एण्ड टी होटल नजिक मङ्गलबार बिहान ईभी माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
अत्तरियाबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७१४ नम्बरको विद्युतीय माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेतर्फ नालामा पल्टिएको हो। दुर्घटनामा परी चालकसहित गाडीमा सवार तीनै जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरूमा चालक सिन्धुली कमलामाई नगरपालिका–७ का २३ वर्षीय मिलन भुजेल तथा सहचालकहरू सिन्धुली दुधौली नगरपालिका–४ का २६ वर्षीय प्रकाश दाहाल र कैलाली गोदावरी नगरपालिका–२ का २८ वर्षीय सागर उपाध्याय रहेका छन्।
घाइतेमध्ये दाहालको मुख र छाती तथा उपाध्यायको ढाड र खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि धनगढीस्थित नोभा अस्पतालमा पठाइएको छ। यस्तै सामान्य चोट लागेका चालक भुजेलको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको छ।
दुर्घटनाबाट माइक्रोबसको अगाडि र पछाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्घटनाको समयमा गाडीमा चालक र दुई सहचालक गरी तीन जना मात्र सवार रहेका थिए।



