नेपाल-भारत जोड्ने महाकालीको पक्की पुल सञ्चालनमा ढिलाइ

प्रकाशित मिति:

दार्चुला । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको निर्माण कार्य पूरा भए पनि सञ्चालनमा भने ढिलाइ भएको छ। पुल निर्माण सम्पन्न भई नेपालतर्फको १३० मिटर मुख्य सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

नेपालतर्फको सडक निर्माण गरिरहेको कम्पनीका सबइन्जिनियर हेम पाण्डेका अनुसार सडक ढलानको काम तीव्र गतिमा भइरहेको छ। दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको छारछुम जोड्ने ११० मिटर लामो यो दुई लेनको पुल भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले निर्माण गरेको हो।

निर्माण पूरा भएको पुल यथाशीघ्र सञ्चालनमा ल्याउन स्थानीयवासी, व्यवसायी तथा जनप्रतिनिधिहरूले माग गरेका छन्। प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले बाँकी पूर्वाधार निर्माण गरी पुल चाँडो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार पुलनजिक नेपालतर्फ भन्सार, क्वारेन्टाइन र सुरक्षा निकायका संरचना निर्माण हुन बाँकी छ। २०७९ असोजमा शिलान्यास गरिएको यो पुल सञ्चालनमा आएपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरूसहित भारत र चीनसम्मको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्धमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

ताजा समाचार