धनगढी: कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै विद्यार्थीलाई यसको व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुदूरपश्चिमबाट सुरु भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा ४ सयभन्दा बढी कक्षा ११–१२ का विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीलाई एआईको प्रयोग, सम्भावना, चुनौती र भविष्यका अवसरबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धनबहादुर बोगटीले गरेका थिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथि तथा क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले एआईले मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउँदै गएको बताए। एआईको विषय पछिल्लो समय गम्भीर र संवेदनशील बन्दै गएको उल्लेख गर्दै उनले यसको प्रयोग जिम्मेवार ढंगले गर्नुपर्नेमा जोड दिए।
शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा एआईको सही प्रयोग गर्न सके त्यसले सेवा प्रवाहदेखि उत्पादन र कार्यसम्पादनसम्म सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ थियो। एआईको प्रयोगसँगै यसका सम्भावित जोखिम र चुनौतीप्रति पनि सचेत हुनुपर्ने उनले बताए।

‘एआईका उपभोक्ता होइन, सिर्जनाकर्ता बन्नुपर्छ’
क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘एआई फर नेपाल २०२६’ केवल एकदिने प्रशिक्षण कार्यक्रम मात्र नभई विद्यार्थीलाई एआईमा आधारित भविष्यका लागि तयार पार्ने राष्ट्रियस्तरको सहकार्यात्मक पहल भएको बताए।
उनका अनुसार कक्षा ११–१२ मै विद्यार्थीलाई एआईसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्न सके भविष्यमा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति विकास गर्न सहयोग पुग्नेछ।
‘एआई फर नेपाल २०२६’ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) र महर्षि कलेजको सहकार्यमा सञ्चालन भइरहेको जानकारी दिँदै अधिकारीले उद्योगगत विशेषज्ञता, शैक्षिक ज्ञान र व्यावहारिक नवप्रवर्तनलाई एकै ठाउँमा जोड्ने प्रयास गरिएको बताए।
‘यो कार्यक्रम विद्यार्थीलाई एआईका उपभोक्ता मात्र नभई सिर्जनाकर्ता, नवप्रवर्तक र समस्या समाधानकर्ता बनाउनतर्फ केन्द्रित छ,’ अधिकारीले भने, ‘अझ स्मार्ट, नवीन र एआईका लागि तयार नेपाल निर्माण गर्न सबैको सहकार्य आवश्यक छ।’

सुदूरपश्चिमबाट देशभर विस्तार गर्ने तयारी
क्यान महासंघका केन्द्रीय उपाध्यक्ष हर्क सेटीले ‘एआई फर नेपाल’ कार्यक्रमलाई देशभर सञ्चालन गर्ने योजना रहेको बताए।
राष्ट्रिय अभियानको सुरुवात सुदूरपश्चिमबाट गरिएको जानकारी दिँदै उनले विद्यार्थीलाई एआईका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। ‘विद्यार्थीले एआईलाई कसरी प्रयोग गर्ने भन्ने मात्रै होइन, यसबाट नयाँ सम्भावना कसरी सिर्जना गर्न सकिन्छ भन्ने पनि सिक्नुपर्छ,’ सेटीले भने।
कार्यक्रममा एआईको वर्तमान अवस्था, एआई उपकरणको प्रयोग, प्रॉम्प्ट इन्जिनियरिङ, एआईमा आधारित नवप्रवर्तन तथा यसको जिम्मेवार र सुरक्षित प्रयोगलगायतका विषयमा प्रशिक्षण र प्रस्तुति दिइएको थियो।
आयोजकका अनुसार कार्यक्रममा विद्यार्थीलाई एआईको सामान्य परिचयमा मात्र सीमित नराखी व्यावहारिक प्रयोग, सिर्जनात्मक सोच, समस्या समाधान र भविष्यका करियर अवसरसँग जोडेर प्रशिक्षण दिइएको थियो।

नेपालमा एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला विद्यार्थी तहबाटै यसको सही, सुरक्षित र सिर्जनात्मक प्रयोगबारे ज्ञान दिन थालिएको यो अभियानलाई देशभर विस्तार गर्ने तयारी क्यान महासंघले गरेको छ।





