धनगढी। प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्दले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएसलगायतका कार्यक्रम सुरु गर्नुअघि पूर्वाधार, जनशक्ति र प्राज्ञिक तयारीको वास्तविक अवस्था पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गरेका छन्।
चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षणपछि विश्वविद्यालयमा प्राध्यापक, शिक्षण अस्पतालको अवस्था, बिरामीको चाप, क्लिनिकल अभ्यास र प्रयोगशालाजस्ता पूर्वाधारमा प्रश्न उठिरहेका बेला सांसद चन्दले ती टिप्पणीहरूलाई विरोधका रूपमा नभई गुणस्तर सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका हुन्। उनले प्रत्येक विभागमा आवश्यक, नियुक्त र कार्यरत जनशक्तिको यथार्थ विवरण तत्काल नागरिकसमक्ष ल्याउनुपर्नेमा जोड दिएका छन्।
सांसद चन्दले विश्वविद्यालयको तयारीलाई परिणाममुखी बनाउन चरणबद्ध कार्ययोजना प्रस्ताव गरेका छन्। उनका अनुसार १५ दिनभित्र जनशक्ति, उपकरण र अस्पताल सेवाको तथ्यगत विवरण सार्वजनिक गरिनुपर्छ भने एक महिनाभित्र शैक्षिक पूर्वाधारको अभाव पहिचान गरी कार्ययोजना ल्याउनुपर्छ। त्यस्तै, तीन महिनाभित्र आवश्यक जनशक्ति नियुक्ति र प्रयोगशाला व्यवस्थापन, छ महिनाभित्र विशेषज्ञ सेवा तथा निदान क्षमता विस्तार र १२ महिनाभित्र पूर्ण क्षमताको शिक्षण अस्पताल निर्माणको प्रगति प्रतिवेदन सार्वजनिक गरिनुपर्ने उनको माग छ।
गेटा सुदूरपश्चिमको दशकौँदेखिको सपना, राज्यको ठूलो लगानी र भावी पुस्ताको स्वास्थ्य भविष्यसँग जोडिएको राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै सांसद चन्दले भने, “जहाँ भ्रम छ, तथ्य दिऔँ, जहाँ कमजोरी छ, सुधार गरौँ र जहाँ तयारी पूरा भएको छ, प्रमाणसहित जनतालाई जानकारी दिऔँ।” उनले अन्य अस्पतालसँग क्लिनिकल सहकार्य गरिएको भए त्यसको कानुनी र प्राज्ञिक ढाँचासमेत प्रस्ट पार्न विश्वविद्यालय प्रशासनको ध्यानाकर्षण गराएका छन्।




