कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नै सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि अल्पमतमा परेका छन्। चालु आर्थिक वर्षको बजेट पारित गर्न सत्ता सहयात्री दल एमालेले सहयोग नगरेपछि शाहले एमालेका चार मन्त्रीलाई पदमुक्त गरेका थिए। त्यसपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री शाहले समर्थन फिर्ता भएपछि ३० दिनभित्र (साउन ३० गतेभित्र) प्रदेश सभाबाट पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। तर नेपाली कांग्रेससँग हाल १७ जना मात्रै सांसद उपलब्ध छन्।
तत्काल नयाँ समीकरणको सम्भावना नदेखिए पनि मुख्यमन्त्री शाहले भने राजीनामा नदिई संविधान बमोजिम विश्वासको मत लिने गरी अघि बढ्ने बताएका छन्। नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग पनि छलफल भइरहेको र सत्ता समीकरणको प्रयास जारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।



