काठमाडौं । नेपालमा मल नपाएपछि भारतीय बजारबाट खेतीका लागि मल ल्याउने क्रममा सर्लाहीका दुई किसान दाजुभाइ विगत २० दिनदेखि भारतीय जेलमा थुनिएका छन्। सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजार सोनवर्षाबाट २ बोरा युरिया र ६ बोरा डीएपी ल्याउँदै गर्दा गत असार १७ गते पक्राउ परेका हुन्।
भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले उनीहरूलाई मल तस्करीको आरोपमा पक्राउ गरी सीतामढीको डुमरास्थित कारागार पठाएको छ। झन्झटिलो अदालती प्रक्रियाका कारण हालसम्म उनीहरूको धरौटी (बेल) समेत हुन सकेको छैन। घरका मुख्य व्यक्ति नै जेल परेपछि र साढे दुई बिघा खेत बाँझै रहेपछि परिवार ठूलो आर्थिक तथा मानसिक तनावमा परेको छ।
नेपालमा हरेक वर्ष खेतीको सिजनमा रासायनिक मलको हाहाकार हुने भएकाले सीमावर्ती क्षेत्रका किसान भारतीय बजारबाट मल ल्याउन बाध्य छन्। स्थानीय प्रशासनले भने पक्राउ परेका किसानहरूको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको र भारतीय एसएसबीसँग पनि भेटघाट तथा खानपानका विषयमा समन्वय भइरहेको जनाएको छ। तर, आफन्त र अधिकारकर्मीहरूले भने निर्दोष किसानलाई छुटाउन नेपाल सरकारले भारतीय पक्षसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।



