काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप भड्किने सङ्केत देखिएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी राडार, हवाई रक्षा प्रणाली र सैन्य प्रतिष्ठानहरूमा अझै शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्ग पार गर्न खोज्ने दुई वटा तेल ट्याङ्करहरूमा आक्रमण गरी नियन्त्रणमा लिएको जनाएको छ। हालैको झडपमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ। अमेरिकाले इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले आक्रमण तीव्र पारेको जनाएको छ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक अमेरिकी सैनिकको क्षतिमा इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा भड्किएको बताएका छन्। ओमान तटमा तेल ट्याङ्करमा आक्रमण र हर्मुज जलमार्ग प्रभावित बनेपछि विश्व बजारमा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। सैन्य तनाव जारी रहेकै बिच मध्यस्थकर्तामार्फत वासिङ्टन र तेहरानबिच कूटनीतिक छलफलसमेत भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ।



