काठमाडौं । काठमाडौँको चोभारमा आगलागी भएको एउटा निजी कारभित्र चालक मृत फेला परेका छन्। कारमा अचानक आगलागी भएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीले चालकलाई सीट बेल्ट बाँधेकै अवस्थामा मृत फेला पारेको हो। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कारमा चालकबाहेक अन्य कोही पनि सवार थिएनन्। मृतकको सनाखत हुन अझै बाँकी छ। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ। कारमा आगलागी के-कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



