कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेसँगै पश्चिमी नाका जोड्ने शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधनको आवागमन पुनः सुचारु भएको छ। नदीमा पानीको मात्रा घटेपछि रोकिएका चारपाङ्ग्रे सवारी साधनहरू चल्न थालेका हुन्।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार मङ्गलबार दिउँसो एक लाख २४ हजार क्युसेकसम्म पुगेको महाकालीको बहाव साँझ घटेर ८६ हजार क्युसेकमा झरेको छ।
नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै भारतीय पक्षले सुरक्षाका कारण देखाउँदै चारपाङ्ग्रे सवारी साधन रोक्ने गरेको छ। सय वर्ष पुरानो यो ब्यारेज जीर्ण भएकाले बाढीका बेला ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ। मङ्गलबार बिहान ठूला सवारी रोकिए पनि पैदल यात्री र मोटरसाइकललाई भने आउजाउ गर्न दिइएको थियो। जलस्तर घटेपछि अहिले नाकामा सामान्य रूपमा यातायात सञ्चालन भइरहेको छ।



