जङ्गलमा आँपका गुठलीः मानव र वन्यजन्तुको सहअस्तित्वका लागि लायन्स क्लबको नवीन अभ्यास

प्रकाशित मिति:

कञ्चनपुर । मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्व र पर्यावरण विनाशको आधुनिक चुनौतीबीच कञ्चनपुरको महेन्द्रनगरमा एउटा भिन्न र अनुकरणीय अभ्यासको थालनी भएको छ। लायन्स क्लब अफ महाकाली महेन्द्रनगरले बुधबार रौटेला धार्मिक तथा पर्यटकीय वन क्षेत्रमा खाएर फ्याँकिएका आँपका गुठली (बिया) सङ्कलन गरी जङ्गलमै रोप्ने ‘नवीन वृक्षारोपण अभियान’ सम्पन्न गरेको छ।


परम्परागत रूपमा गरिने काठ वा शोभनीय बिरुवाको रोपणभन्दा अघि बढेर यो अभियान सुरु गरिएको हो। प्रकृतिमा उत्पादन हुने फलफूलका अवशेषलाई पुनः प्राकृतिक चक्रमै फर्काएर जङ्गललाई प्राकृतिक आहारको भण्डार बनाउने सोच यस अभियानको मुख्य जग रहेको छ।


अभियानका परिकल्पनाकार डा. भोजराज पन्तका अनुसार हामीले दैनिक उपभोग गरेर फ्याँक्ने गुठलीलाई जोगाएर जङ्गलमा पुर्‍याउन सके ठूलो लगानीविना नै फलफूलको प्राकृतिक वन तयार गर्न सकिन्छ।
“यसले एकातिर जैविक फोहोरको सही व्यवस्थापन गर्छ भने अर्कोतिर भोलिका दिनमा मानव, वन्यजन्तु र चराचुरुङ्गी सबैका लागि भोजनको भोकमरी अन्त्य गर्छ,” डा. पन्तले भने।


कार्यक्रमका लायन्स डिस्ट्रिक्ट ३२५ एन, नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर डा. नेत्रराज चटौतले यो प्रयासलाई प्राकृतिक सन्तुलन र वन्यजन्तु व्यवस्थापनको दृष्टिकोणले कोशेढुङ्गा रहेको बताएका छन् ।


उनले भने “अहिले वन्यजन्तु आहाराको खोजीमा मानव बस्तीमा पस्दा जनधनको क्षति भइरहेको छ। जङ्गलभित्रै फलफूलका रूखहरू हुर्काउन सके वन्यजन्तुले आफ्नै प्राकृतिक बासस्थानमा पर्याप्त आहार पाउनेछन्। डा. भोजराज पन्त सरको यो वैज्ञानिक एवम् व्यावहारिक सोच र क्लबको तदारुकता वातावरणीय सन्तुलनका लागि अनुकरणीय छ।”
कार्यक्रममा क्लबका अध्यक्ष लक्ष्मी प्रसाद पन्तले समुदाय र प्रकृतिको दीर्घकालीन हितका लागि क्लबले नयाँ सोचलाई व्यवहारमा उतारेको बताए।


“डा. पन्त सरको नवीन सोचलाई संस्थागत गर्दै हामीले यो अभियानको थालनी गरेका हौँ। खाएर फ्याँकिने बियालाई सही सदुपयोग गर्दा भविष्यमा मानव र वन्यजन्तु दुवैले लाभ लिन सक्नेछन्। यो सुरुआत मात्र हो, आगामी दिनमा यसलाई अझ व्यापक बनाउँदै लैजानेछौँ।” अध्यक्ष पन्त।

ताजा समाचार