काठमाडौं । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्तै दुर्लभ गर्भाधानबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई चार समान (चम्ल्याहा) छोरीको जन्म भएको छ।
क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले सिजेरियन शल्यक्रियामार्फत चारै स्वस्थ छोरीलाई जन्म दिनुभएको हो। चिकित्सकहरूका अनुसार करिब १ करोड ५० लाखमध्ये एक जनामा मात्रै यस्तो असाधारण गर्भाधान हुने सम्भावना रहन्छ।
चारै भ्रूणले एउटै प्लेसेन्टा (साझा साल) प्रयोग गरेकाले यो गर्भावस्था उच्च जोखिमयुक्त मानिएको थियो। २५औँ सातादेखि अस्पतालमै निगरानीमा राखिएकी नामोनाले २८ हप्ता ४ दिनको गर्भावस्थामै शिशुहरूलाई जन्म दिनुभएको हो। हाल चारै नवजात शिशुको एनआइसीयू (NICU) मा उपचार भइरहेको छ भने आमा र शिशु सबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ।



