धनगढी । डाक्टर गोविन्द केसीको अनशनका कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सुदूरपश्चिम भ्रमण अनिश्चित बनेको छ। मन्त्रीको भ्रमण रोकिँदा कैलालीको गेटास्थित सहिद दशरथ चन्द विश्वविद्यालयअन्तर्गतको अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने सरकारी प्रक्रियासमेत प्रभावित भएको छ।
तय भएको कार्यतालिकाअनुसार मन्त्री मेहताले शनिबार बिहान गेटा पुगेर उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दसँग अस्पताल सञ्चालन एवं शय्या विस्तारबारे छलफल गर्ने कार्यक्रम थियो। त्यसका साथै विश्वविद्यालय परिसरमा वृक्षारोपण, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको निरीक्षण एवं जानकी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई वृद्धि गरिएको प्रोत्साहन भत्ता वितरण गर्ने तयारी थियो।
सरकारले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गरी चालू शैक्षिक सत्रबाटै एमबीबीएस (MBBS) तहको पठनपाठन सुरु गर्ने तयारी अघि बढाएको छ। तर, डा. केसीले विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खारेजीको माग गर्दै धनगढीमै पुगेर सत्याग्रह सुरु गरेपछि सम्पूर्ण योजना अन्योलमा परेको हो।
चिकित्सा शिक्षा सुरु गर्न पहिले तीन सय शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने अडान राख्दै आएका डा. केसीको अनशनकै कारण स्तरोन्नतिको निर्णय अड्किएपछि सुदूरपश्चिमवासीले भने उनको विरोध गरेका छन्। उता, डा. केसीले आफू स्वास्थ्य क्षेत्रको विज्ञ भएको दाबी गर्दै अस्पताल सञ्चालन भएको निश्चित अवधि पूरा भएपछि मात्र पठनपाठन सुरु गरिनुपर्ने बताएका छन्।




