सुदूरपश्चिम । महाकाली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी एक महिलाको सकुशल उद्धार गर्ने प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ‘पुलिस अफ द मन्थ’ सम्मान प्रदान गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत महराले आफ्नो ज्यानको पर्वाह नगरी नदीमा हामफालेकी महिलालाई जीवितै उद्धार गरेका थिए। साहसिक कार्यको कदर गर्दै उनलाई २०८३ साल असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले बिहीबार महरालाई प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरे। कार्यक्रममा भट्टराईले नागरिकको जिउज्यानको रक्षा गर्न जोखिम मोलेर कर्तव्य निर्वाह गर्ने प्रहरीको साहस र कर्तव्यनिष्ठाको प्रशंसा गर्दै राम्रो कामको सधैँ उचित मूल्याङ्कन हुने बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार महरालाई अभिलेखमा जनिने गरी प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ।




