काठमाडौँ । सर्वोच्च अदालतले तयार पारेको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकअनुसार उच्च अदालतका न्यायाधीशहरूमध्ये सर्वाधिक मुद्दा फैसला गर्ने सूचीमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारी पहिलो नम्बरमा परेका छन्।
आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको विवरण समेटिएको प्रतिवेदनअनुसार भण्डारीले कुल ६ हजार ७७० वटा मुद्दा फैसला गरेका छन्। उनले आव ७८/७९ मा ९५७, ७९/८० मा २ हजार ४०, ८०/८१ मा १ हजार ५७७, ८१/८२ मा १ हजार १७६ र ८२/८३ मा १ हजार २० वटा मुद्दा किनार लगाएका हुन्।
त्यस्तै, उच्च अदालत जनकपुर, राजविराज इजलासकै न्यायाधीश सुभाष पौडेल ४ हजार ५०३ मुद्दा फैसला गर्दै दोस्रो स्थानमा छन् भने उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश किरणकुमार पोखरेल ४ हजार ४२० मुद्दाको फैसलासहित तेस्रो स्थानमा रहेका छन्।
सर्वाधिक मुद्दा फैसला गर्ने उत्कृष्ट १० न्यायाधीशहरूको सूचीमा सोमकान्त मैनाली (४,३९६), विमल सुवेदी (४,१२४), गोकर्ण डाँगी (४,०१९), दिपेन्द्र बहादुर बम (३,९४२), सुदर्शन राज पाण्डे (३,८६६), ध्रुवराज नन्द (३,८५४) र मिलनकुमार राई (३,७०१) रहेका छन्।




