भारतीय तरकारी रोकिएपछि डिलासैनीमा दुई महिनामै दुई करोडको तरकारी बिक्री

प्रकाशित मिति:

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ का करिब ५० परिवार किसान यतिबेला उत्साहमा छन्। लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आए पनि उत्पादित उपजले उचित मूल्य र बजार नपाउने समस्या झेलिरहेका उनीहरूका लागि यो वर्ष राहत बनेर आएको छ।सरकारले सीमापारिबाट आउने तरकारी आयातमा कडाइ गरेपछि वैशाख र जेठ गरी दुई महिनाको अवधिमा मात्रै चौसेरा र कुयादह गाउँमा दुई करोड रुपैयाँभन्दा बढीको तरकारी भित्रिएको स्थानीय किसानहरू बताउँछन्।२०४३ सालदेखि तरकारी खेतीमा सक्रिय स्थानीय अगुवा किसान प्रेमसिंह मालका अनुसार पहाडी जिल्लाहरूमा भारतीय तरकारी नआउँदा स्थानीय उत्पादनले सजिलै बजार पाएको छ।

१५ रोपनी क्षेत्रफलमा काँक्रा, लौका, फर्सी, टमाटर र घिरौँला खेती गर्दै आएका मालले यो पटकको जस्तो सहज बजार र उचित मूल्य पहिले कहिल्यै नपाएको अनुभव सुनाए।गाउँका युवादेखि ज्येष्ठ नागरिकसम्म व्यावसायिक कृषिमा आबद्ध छन्। उच्च शिक्षा हासिल गरेर २०७७ सालदेखि तरकारी खेती सुरु गरेका २८ वर्षीय नवीन मालले धनगढी हुँदै आउने विदेशी तरकारी रोकिएकाले काँक्रा, लौका, सिमी, भन्टा, भेडेखुर्सानी र करेलाजस्ता उपज स्थानीय बजारमै राम्रो मूल्यमा बिक्री भएको जानकारी दिए।यस्तै, नौ रोपनीमा खेती गर्दै आएका ६५ वर्षीय रामसिंह मालले दुई महिनामै लौका मात्रै एक लाख रुपैयाँको बिक्री गरेको बताए।

उनका अनुसार बारीबाटै काँक्रा, लौका र करेला प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री भएको थियो।उखु, केरा र बाख्रापालनसँगै १० रोपनीमा तरकारी खेती गरेका पदमबहादुर बोहराले पनि आफूले साढे छ लाख रुपैयाँको तरकारी बिक्री गरेको जानकारी दिए। बैतडी र छिमेकी जिल्ला दार्चुलाका स्थानीय बजारमा उपज खपत भएको उनी बताउँछन्।स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको निरन्तरता हुनुपर्ने किसानहरूको माग छ। उत्पादनले बजार पाएर आर्थिक अवस्थामा सुधार आए पनि स्थानीय तथा प्रदेश सरकारबाट भने सिँचाइ, बीउबिजन र आधुनिक प्रविधिमा अपेक्षाकृत सहयोग नपाएको उनीहरूको गुनासो छ।

ताजा समाचार