स्थानीय तह निर्वाचनको पूर्वतयारीमा जुट्यो निर्वाचन आयोग

प्रकाशित मिति:
spot_img

काठमाडौं । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तथा प्राविधिक पूर्वतयारीमा जुटेको छ । निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्वाचन सामग्रीको व्यवस्थापनलगायतका कार्य आयोगले अघि बढाएको हो आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आवश्यक निर्वाचन सामग्रीको मौज्दात अवस्था जाँच्ने र अपुग सामग्रीको परिमाण आकलन गर्ने काम भइरहेको छ ।

मतदानस्थल मतदाताका लागि पायक पर्ने स्थानमा छन् वा छैनन् भन्ने विषयमा स्थानीय तहबाट प्राप्त सिफारिसलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला तहमा पुनरावलोकन गर्ने कार्यसमेत भइरहेको उनले जानकारी दिए । निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मात्र गरिने आयोगले स्पष्ट पारेको छ । यसैबिच, निर्वाचनको मिति र व्यवस्थापनका विषयमा आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गरेको छ । निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार दलहरूसँगको परामर्शपछि नेपाल सरकारसँग छलफल गरी निर्वाचनको मिति तोक्ने प्रक्रिया अघि बढाइनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था छ । विसं २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदै छ । आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्ने जनाएको छ ।

spot_img

ताजा समाचार