जुवा र कौडाको खालबाट २५ जना पक्राउ, साढे चार लाख बढी नगद बरामद

प्रकाशित मिति:
spot_img

काठमाडौं । प्रहरीले म्याग्दी र धनकुटाका विभिन्न स्थानमा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको साथबाट कुल चार लाख ४६ हजार १० रुपियाँ नगद बरामद भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङका ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा निउरेसहित पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ५७ हजार ४० रुपियाँ र चार बुक तास बरामद गरेको छ ।

यसैगरी, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा श्रेष्ठसहित २० जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद तीन लाख ८८ हजार ९७० रुपियाँ र १६ थान कौडा बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार