गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबिच समझदारी: आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाशित मिति:

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबिच जनकपुरधाममा भएको वार्तापछि दुवै पक्षबिच समझदारी बनेको छ। जनकपुरधामस्थित एक होटलमा गृहमन्त्री गुरुङको नेतृत्वमा रहेको सरकारी प्रतिनिधिमण्डल र संगठनका प्रतिनिधिबिच करिब डेढ घण्टासम्म वार्ता भएको थियो।

हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि बुझाइएको १३ बुँदे मागमा थप केही विषयहरू समावेश गरेर कुल १९ बुँदे प्रस्ताव सरकारसमक्ष पेस गरिएको छ। हिन्दू सम्राट सेनाले अघि सारेका मागहरूलाई सरकारले सकारात्मक रूपमा लिएको र ती माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा एक समिति गठन गर्ने विषयमा सहमति भएको छ।

वार्ताका क्रममा आन्दोलनका क्रममा पक्राउ परेका सम्पूर्ण व्यक्तिहरूलाई रिहा गर्ने, उनीहरूमाथि कुनै पनि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीहरूमाथि छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विषयमा समेत समझदारी बनेको छ।

सरकारी पक्षबाट आफ्ना मागहरू पूरा हुने स्पष्ट आश्वासन प्राप्त भएपछि हिन्दू सम्राट सेनाले आफ्ना सबै प्रकारका आन्दोलन र विरोधका कार्यक्रमहरू फिर्ता लिएको छ।

यसैबिच, हिजो जिल्ला प्रशासन कार्यालयको सभा हलमा सरकारले प्राप्त गरेको १३ बुँदे र आज पेस गरिएको ६ बुँदे गरी सम्पूर्ण मागपत्र गृहमन्त्री गुरुङले सरकारको तर्फबाट औपचारिक रूपमा ग्रहण गरेको जानकारी दिएका छन्।

ताजा समाचार