सीमावर्ती बजारमा भारुको प्रभाव : आफ्नै देशमा चल्दैन नेपाली पैसा

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपालकै भूभागभित्र रहेर पनि कैलालीको कैलारी गाउँपालिका–७ स्थित सीमावर्ती गाउँ हौसलपुरमा नेपाली रुपियाँको सट्टा भारतीय मुद्रा (भारु) मा मात्र आर्थिक कारोबार हुने गरेको छ । भारतीय बजार र नागरिकसँगको बढ्दो व्यापारिक निर्भरताका कारण गाउँका किराना पसलदेखि होटेलसम्मका सबै किनमेलमा भारु नै प्रचलनमा रहेको हो ।

आफ्नै देशको गाउँमा आफ्नै मुद्रा नचल्नु दुःखद पक्ष भए पनि भारतीय ग्राहकलाई आकर्षित गर्न र सीमापार व्यापारमा सहुलियत पाउने आसमा स्थानीय व्यापारीले भारुलाई नै प्राथमिकता दिएका छन् । मोहना नदीपारि रहेको हौसलपुरमा झोलुङ्गे पुल निर्माण भएपछि नदीवारिका छिमेकी गाउँका बासिन्दासमेत आलु, गहुँको बिउबिजन तथा दैनिक उपभोग्य भारतीय सामान किन्न त्यहाँ पुग्ने गरेका छन् ।

सीमावर्ती भारतीय बजारमा दोहोरो ठगी

एकातिर नेपाली गाउँमै भारुको दबदबा छ भने अर्कोतिर सीमावर्ती भारतीय बजारमा पुग्ने नेपाली उपभोक्ता मुद्रा सटही र नापतौल दुवैमा ठगिने गरेका छन् । भारतको बेलापरसुआ र गढीबाबामा हरेक आइतबार लाग्ने ‘टर्नी बजार’ मा सस्तो सामान किन्ने आसमा पुग्ने नेपालीलाई भारतीय व्यापारीले मनपरी सटही दर कायम गरी ठग्ने गरेका हुन् ।

ती बजारमा एक हजार नेपाली रुपियाँको ६२५ भारु हुनुपर्नेमा व्यापारीले ६०० भारु र ५०० नेपाली रुपियाँको ३०० भारु मात्र हिसाब गर्ने गरेका छन् । यसरी सटहीमै नेपाली उपभोक्ताले प्रतिहजार ४० रुपियाँ र पाँच सयमा २० रुपियाँ प्रत्यक्ष घाटा बेहोर्नुपरेको कैलारी गाउँपालिका–७, तिघरीका दिलीप चौधरीले बताए । उनका अनुसार धनगढी आसपासका वनगाँवा, सुडा र चन्दनचौकीजस्ता ठुला भारतीय बजारमा यस्तो समस्या नभए पनि बेलापरसुआ र टर्नी बजारमा नेपाली उपभोक्तामाथि चरम आर्थिक शोषण भइरहेको छ ।

नेपाली ग्राहकलाई नै लक्षित गरी विगत तीन वर्षदेखि सञ्चालित टर्नी बजारमा कमसल तथा सड्न लागेका सामग्री बिक्री गर्नुका साथै नापतौलमा समेत ठगी हुने गरेको स्थानीय रामलाल चौधरीले जानकारी दिए । ढक–तराजुबाट जोखिने सामानमा प्रतिकिलो २०० देखि ३०० ग्रामसम्म कम तौल दिने गरिएको प्रत्यक्षदर्शीसमेत रहेका चौधरीको गुनासो छ ।

spot_img

ताजा समाचार