बालबालिकाको हेरचाहमा परिवारमा आधारित प्रणालीलाई प्राथमिकता दिनुपर्छ : मन्त्री वादी

प्रकाशित मिति:
spot_img

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को आयोजनामा बुधबार ललितपुरमा आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तर्राष्ट्रिय वर्गीकरण (आइकेयर) विषयक राष्ट्रिय अन्तरक्रियामा उनले बालबालिकाको सर्वोत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको उल्लेख गरिन् ।

मन्त्री वादीले संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको हेरचाह र संरक्षित परिवारजस्ता परिवारमा आधारित वैकल्पिक हेरचाहलाई प्रवर्द्धन गर्नु नै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने दिगो र मानवीय मार्ग भएको स्पष्ट पारिन् ।

मन्त्रालयले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली र सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीयकरण गरी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने कार्य अघि बढाएको जानकारी दिँदै उनले स्थानीय तहबाटै नियमित र यथार्थ तथ्याङ्क सङ्कलन हुन सके राष्ट्रियस्तरमा बालबालिकाको अवस्थाको स्पष्ट चित्र प्राप्त हुने बताइन् । आइकेयर वर्गीकरण प्रणालीले औपचारिक बालगृहदेखि नातेदारको हेरचाह र अनौपचारिक संरक्षणका स्वरूपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिभाषित गर्ने भएकाले नेपालको सन्दर्भअनुकूल सूचक निर्माण गर्नुपर्नेमा मन्त्री वादीले जोड दिइन् ।

spot_img

ताजा समाचार