काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन भइरहेको नियमित अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ । पछिल्लो दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई उडानमार्फत १३ हजार ४७४ यात्रुले हवाई सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म १२२ वटा दुईतर्फी उडान भरेको छ । उक्त अवधिमा दुबईबाट आठ हजार ११५ यात्रु पोखरा भित्रिएका छन् भने पोखराबाट पाँच हजार ३५९ यात्रु दुबई प्रस्थान गरेका छन् ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा पुग्न सकिने सुविधाले यात्रुको आकर्षण बढाएको बताए । नेपालमा रहेका भारतीय नागरिकले तेस्रो मुलुक यात्रा गर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले पोखरामै एनओसी उपलब्ध गराउने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिए । पोखराबाटै एनओसी जारी भए यात्रु सङ्ख्या अझै उल्लेख्य बढ्ने उनको भनाइ छ ।
विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा फ्लाइ दुबईले पहिलोपटक नियमित व्यावसायिक उडान सुरु गरेको हो ।






