बाजुरामा अविरल वर्षापछिको पहिरोले दुई घर पुरियो : बेपत्ता महिलाको शव फेला, दुई घाइते

प्रकाशित मिति:

बाजुरा । अविरल वर्षाका कारण बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा गएराति पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिलाको शव भेटिएको छ। घर पुरिएर बेपत्ता भएकी स्थानीय २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो।

सुरक्षाकर्मी र स्थानीयको टोलीले पहिरोले पुरिएको घरभित्रै थापाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए। पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ।

पहिरोमा परी घाइते भएका स्थानीय धर्म थापा र धौलीदेवी रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै, पहिरोका कारण बस्तीका अन्य घरहरू पनि जोखिममा परेको स्थानीय दीपेन्द्र थापाले बताए।

ताजा समाचार