गृहमन्त्री र स्थानीयबीच रोचक संवाद: ‘चार महिनामा कायापलट हुँदैन, काम हेर्न ५ वर्ष पर्खिनुस्’

प्रकाशित मिति:

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र गोर्खा क्षेत्र नम्बर १ का स्थानीयबासीबीच बजेट तथा चुनावी वाचालाई लिएर भएको रोचक संवाद अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। आइतबार सहिद लखन गाउँपालिकाका मतदातासँगको भेटघाटका क्रममा स्थानीयले चुनावअघि गरिएको स्वास्थ्य ल्याब स्थापनाको प्रतिवद्धताबारे प्रश्न उठाएका थिए।

गाउँपालिकाको वडा नम्बर ९ मा आयोजित उक्त कार्यक्रममा वडाध्यक्ष रामकुमार श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सचिव खोपेन्द्र लामिछाने लगायत स्थानीयको बाक्लो उपस्थिति थियो। भेटका क्रममा स्थानीय युवाले चुनावका बेला मन्त्री गुरुङले असारभित्र ल्याबका लागि बजेट छुट्याउने भनेर दिएको आश्वासन स्मरण गराउँदै सरकारको नयाँ बजेटमा उक्त योजना नपरेको भन्दै गुनासो गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले साना र वडा स्तरका सबै टुक्रे योजनाहरू बजेट वक्तव्यको रातो किताबमा समावेश गर्न व्यावहारिक रूपमा असम्भव हुने स्पष्ट पारे। वडा स्तरका साना कामहरू सिधै मन्त्रालयको आन्तरिक समन्वय र सूचीकरणमार्फत कार्यान्वयन गरिने उनको भनाइ थियो।

मन्त्री गुरुङले सरकार बनेको भर्खर चार महिना मात्र पुगेको र साउन १ गतेबाट मात्रै नयाँ बजेट कार्यान्वयनमा आएकाले सेवा प्रवाहका लागि केही समय धैर्य गर्न आग्रह गरे। संवादकै क्रममा उनले ठट्टाको शैलीमा भने, “चार महिनामा म कायापलट गराउन सक्दिनँ, विश्वास लाग्दैन भने भोट फिर्ता लिएर जानुभए हुन्छ।”

गृहमन्त्रीको सो अभिव्यक्तिपछि कार्यक्रमस्थलमा उपस्थित सहभागीहरूबीच हाँसोको माहोल बनेको थियो। स्थानीयले पनि जिताएर पठाइसकेकाले अब भोट फिर्ता लैजान नमिल्ने भन्दै व्यङ्ग्यात्मक जवाफ फर्काएका थिए। प्रत्यक्षदर्शीका अनुसार वातावरण पूर्ण रूपमा सौहार्दपूर्ण र सहज थियो।

गृहमन्त्री गुरुङले जनतालाई कामसँग मतलब हुनुपर्ने र आफ्नो ५ वर्षे कार्यकालभित्र प्रतिबद्धता अनुसारका योजनाहरू पूरा गरेरै छाड्ने दाबी गरे।

ताजा समाचार