कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-१ स्थित मुडा पुल नजिकै ट्रकले ठक्कर दिँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको निधन भएको छ। सोमबार बिहान सापकोटा सवार से १-०१-००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १-०१-०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि तत्काल दोदोधरा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनापछि फरार रहेका ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। निधन भएकी नेत्री सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्।




