कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको सतहले खतराको विन्दु नाघेको छ। निरन्तरको वर्षासँगै नदीमा जलस्तर ह्वात्तै बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
सोमबार बिहान महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेलगत्तै सुरक्षाका कारण देखाउँदै भारतीय पक्षले चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार बिहान ९:०० बजेको मापनमा नदीमा पानीको बहाव १ लाख १४ हजार क्युसेक पुगेको छ। शारदा ब्यारेजको प्राविधिक नियमअनुसार जलबहाव १ लाख क्युसेक पुग्नेबित्तिकै ठूला सवारीसाधन रोक्ने गरिन्छ।
यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाले बैतडी, कञ्चनपुर, कैलाली र बर्दियालगायतका क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले महाकाली नदीसहित कञ्चनपुरका साना-ठूला खोलानालामा पानीको सतह अझै बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।




