करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै: उपभोक्ताको सहभागितामा भारी वृद्धि

प्रकाशित मिति:

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गरिँदै छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्ने तयारी गरेको छ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबार गरी बिल दर्ता गराउने तथा क्यूआरमार्फत भुक्तानी गर्ने उपभोक्ताहरू आजको पुरस्कार प्रणालीमा सहभागी हुनेछन्।

विभागका अनुसार सुरुआती महिनामै यस योजनामा उपभोक्ताको सहभागिता उत्साहजनक रूपमा बढेको छ। साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू दर्ता भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा बिल दर्ता गराउने उपभोक्ताको सङ्ख्या ७ हजार ७७ मात्र थियो। सैगरी, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। पछिल्लो १७ दिनको अवधिमा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको विभागले जनाएको छ।

आज यही कारोबारका आधारमा १७ जना विजेता छनोट गरिनेछ। साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका आधारमा प्रतिदिन एक-एक जना गरी १७ जनाले कर कटाएर खुद १ लाख रुपैयाँ (करसहित १ लाख ३३ हजार ३३४ रुपैयाँ) प्राप्त गर्नेछन्। यसैगरी, सहभागीहरूमध्येबाट एक जनाले २५ प्रतिशत कर कट्टी हुने गरी १० लाख रुपैयाँको बम्पर उपहार जित्नेछन्। आजकै कार्यक्रममा साउनको पहिलो पाक्षिकका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ।

ताजा समाचार