धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज बसेको प्रदेश सभा बैठकबाट बहुमत सिद्ध गरेका हुन्।
कुल ५३ सदस्यीय (हाल ५१ सदस्य कायम) प्रदेश सभामा मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसद उभिएका हुन्। नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका (सभामुखबाहेक) १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन्।
प्रस्तावको विपक्षमा कुल १५ मत परेको छ, जसमा नेपाली काङ्ग्रेसका १४ र राप्रपाका १ सांसद रहेका छन्। काङ्ग्रेसका सांसदहरू पदम शाही, मानबहादुर रावल र मधु भारती भने बैठकमा अनुपस्थित रहे।
डडेल्धुराबाट निर्वाचित सांसद तारा जोशीले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका, कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भएको र अर्का सांसद दीर्घ सोडारी निलम्बित रहेकाले हाल प्रदेश सभामा ५१ सदस्य कायम छन्।




